2nd June 2026, Tuesday

राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाले पुर्‍याउँदै आएको योगदान महत्वपूर्ण: प्रधानसेनापति सिग्देल

Post Image
1 दिन अगाडी

News by: helpline

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसंघको बडापत्रमा आधारित भई राष्ट्रसंघीय शान्ति मिसनका माध्यमबाट नेपाली सेनाले  पुर्‍याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सोमबार आयोजित कार्यक्रममा प्रधान सेनापत सिग्देलले नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ पुर्याएको ऐतिहासिक योगदानको स्मरण गर्नुभयो । नेपाली सेनाको मुख्य लक्ष शान्ति स्थापना गर्नु भएको भन्दै प्रधान सेनापति सिग्देलले यही उद्देश्यमा अटल रहेर नेपाली सेनाले काम गरिरहेको स्पष्ट पार्नुभयो ।

कामप्रतिको प्रतिबद्धता, व्यावसायिकता र इमान्दारिता नेपाली सेनाको पहिचान रहेको उल्लेख गर्दै उहाँले नेपाली सेनाले विश्वस्तरमा आर्जन गरेको प्रतिष्ठा नेपाल र नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो । सो अवसरमा प्रधान सेनापति सिग्देलले मिसन इलाकामा मृत्यु भएका दुई जना सैनिकका परिवारलाई सम्मानपत्र र शान्ति स्थापनार्थ खटिइ उत्कृष्ट कार्य गर्ने पाँच जना सैनिकलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा उपरथी अनुपजङ्ग थापाले नेपाली सेनाले विविधताबीच एकता र सहकार्यमा आधारित शक्ति आर्जनका माध्यमबाट विश्वमा नै शान्ति सेनाको ख्याति आर्जन गरेको स्पष्ट गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा रहेको जानकारी दिनुभयो ।

उहाँले विश्व शान्ति स्थापनाका पक्षमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धिका बारेमा पनि चर्चा गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घीय मिसनअन्तर्गत हाल विश्वका विभिन्न नौ वटा मिसनमा नेपाली सेनाका चार हजार १७९ जना शान्ति सैनिक कार्यरत रहेका छन् । विश्व शान्ति स्थापनाका सिलसिलामा हालसम्म विश्वका विभिन्न मिसनमा गरी ७४ जना सैनिकले ज्यान गुमाएका र ७७ जना घाइते भएका जानकारी पनि सो अवसरमा दिइएको थियो ।

 समारोमा रक्षा सचिव, नेपाल प्रहरी,शसस्त्र प्रहरीबल,राष्ट्रिय अनुसनधान विभागका प्रमुख लगायतको उपस्थिति रहेको थियो । हरेक वर्ष मे २९ मा मनाइने यो दिवस नेपाली सेनाले सोमबार पाँचखालमा बिशेष कार्यक्रमका साथ मनाएको हो ।



No ad available.


No ad available.