11th September 2026, Friday

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैनः सभापति गगन थापा

Post Image
48 मिनेट अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै मितिभन्दा एक घण्टा पनि तलमाथि नहुने स्पष्ट पार्नुभएको छ ।

शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशन प्रक्रिया अब कुनै पनि बहानामा नरोकिने भन्दै सम्पूर्ण नेता–कार्यकर्तालाई ढुक्क भएर लोकतान्त्रिक अभ्यासमा होमिन आह्वान गर्नुभयो । सभापति थापाले महाधिवेशनमा सहभागी हुन कसैलाई पनि बन्देज नगरिएको र सबै पक्ष सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । अलमलमा परेका सबैलाई जोड्ने प्रयास निरन्तर जारी रहने प्रतिबद्धता पनि सचापति थापाले जनाउनु भएको छ ।

पार्टीभित्रका विकृति र विसङ्गतिविरुद्ध निर्मम बन्न तथा आन्तरिक एकताका लागि भने नरम र लचिलो हुन आफूले स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाटै सिकेको स्मरण गर्दै थापाले पार्टीलाई विधि र थितिमा हिँडाउन कुनै सम्झौता नगर्ने अडान दोहो¥याउनुभयो । आगामी महाधिवेशन सम्पन्न भएलगत्तै कांग्रेस जनतासँग प्रत्यक्ष जोडिने बृहत् अभियान लिएर देशका गाउँगाउँ पुग्ने उद्घोषसमेत थापाले गर्नुभएको छ ।

सभापति थापाले नेपालको आधुनिक अर्थतन्त्र र निजी क्षेत्रको विकासमा पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भूमिका ऐतिहासिक र निर्णायक रहेको उल्लेख गर्नुभयो । नेपालमा निजी क्षेत्रबाट उद्योगधन्दा र ठूला व्यवसाय सञ्चालन गर्न पाउने खुला आर्थिक नीतिको जग कोइरालाले नै बसालेको भन्दै थापाले त्यो निर्णयकै कारण आज देशमा लाखौँ उद्योगी–व्यवसायी जन्मिने बाटो खुलेको धारणा राख्नुभयो । 

सभापति थापाले कोइरालाकै नीतिका कारण नेपाली अर्थतन्त्रले फराकिलो रूप लिन सकेको स्पष्ट पार्नुभयो । खुला बजार अर्थतन्त्र, लोकतन्त्रको सुदृढीकरण र समावेशी समृद्धिका लागि कोइरालाले देखाएको बाटो आज पनि उत्तिकै सान्दर्भिक रहेको सभापति थापाको भनाइ थियो। कार्यक्रममा फाउन्डेसनको नेतृत्व नेतृ सुजाता कोइरालाले कांग्रेस नेता डा सुनिल शर्मालाइ हस्तान्तरण गर्नु भएको थियो ।



No ad available.


No ad available.