3rd June 2026, Wednesday

आज लोकतन्त्र दिवस,देशभर बिबिध कार्यक्रम गरी मनाइँदै

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । आज २० औं लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

 १९ दिनसम्म देशैभरि भएको आन्दोलनबाट नागरिकले २४० वर्षदेखि शासन सत्तामा रहेको शाहवंशीय राजतन्त्र अन्त्य गरी २०६३ वैशाख ११ गते लोकतन्त्रको स्थापना गरेका थिए । वि.सं. २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभएको थियो । जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर बैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो। विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन ।

 निर्वाचन नभएपछि राजाबाट इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने गरिएको थियो । शाह वंशका अन्तिम शासक ज्ञानेन्द्र शाहले जनताको रूपान्तरणको आकाङ्क्षासामु झुकेर २०५९ जेठ ८ गते विघटन गरेको संसद् पुनस्र्थापना गरेपछि नै लोकतान्त्रिक व्यवस्थाको अग्रगामी युग थालनी भएको हो । संसद् पुनस्र्थापनापछि २०६३ जेठ ४ गतेको बैठकबाट राजसंस्थाका सम्पूर्ण अधिकार खारेज गरेर कार्यकारी अधिकार प्रधानमन्त्रीमातहत ल्याएको थियो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो ।

 विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिनुभएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो। तत्कालीन सात दल र माओवादीबीच १२ बुँदै संझौता भएपछि आन्दोलनले गति लियो । २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो। नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुनभयो र आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभयो । यही दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो।

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो।

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिबाट बनाइएको २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार संचालित छ । जेनजी आन्दोलन पछि संविभानको जगमा गत फागुन २१ गते संघीय संसद प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार बनेको छ ।

 संविधान जारी पछि संघीय संसदको निर्वाचन तेस्रो पटक भएको छ भने प्रदेश र स्थानीय तहको निर्वाचन दुइपटक (२०७४ र २०७९) भएको छ ।



No ad available.


No ad available.