28th October 2026, Wednesday

चक्रवात ‘अरनब’का प्रभावले नेपालमा भारी वर्षा र हिमपातको संभावना,सतर्क रहन आग्रह

Post Image
13 घण्टा अगाडी

News by: helpline

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अरनब’का प्रभावले नेपालमा बिहीबारदेखि शनिबारसम्म भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्नेछ ।

 त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ । सम्भावित विपद्बाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी र खोलाका किनार एवम् बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ । त्यसैगरी, मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ ।

 प्राधिकरणले आपत्कालीन अवस्थामा आवश्यक सहयोग लिन मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।



No ad available.


No ad available.