30th October 2026, Friday

चौतर्फी बिरोधपछि समाचार कक्षबाटै पक्राउ परेका तीनै जना पत्रकार रिहा

Post Image
1 घण्टा अगाडी

News by: helpline

काठमाडौं । चौतर्फी बिरोधपछि समाचार कक्षबाटै पक्राउ परेका तीन जना पत्रकार रिहा भएका छन्।

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिनुभएको हो ।प्रहरीले शुक्रबार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका पत्रकार धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो।

समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन शाहले उनीहरूलाई रिहा गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि तीनै जना पत्रकार रिहा भएका बताइएको छ ।

पत्रकारहरूको रिहाइबारे जानकारी दिँदै सञ्चारमन्त्री तिमल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनु भएको छ ।उहाँले प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्नुभएको छ । समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धमा पुनः बहस सिर्जना गरेको छ।

पत्रकारहरूलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सहितका नेपाली कांग्रेस,नेकपा एमाले लगायत ठूला दलले विरोध गरेका छन् ।



No ad available.


No ad available.