12th August 2026, Wednesday

एकदिवसीय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछाने

Post Image
1 दिन अगाडी

News by: helpline

काठमाडौं । नेपाली राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नुहुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेललाई हटाएर लेग स्पिनर सन्दीपलाई कप्तानी जिम्मेवारी दिएको जानकारी दिएको हो। योसँगै ३० अगस्टदेखि १२ सेप्टेम्बरसम्म हुने एसीसी प्रिमियर कपदेखि नेपाली टोलीको कप्तानी लामिछानेले गर्नुहुनेछ ।

 आगामी अगस्ट ३० देखि मलेसियामा एसीसी प्रिमियर कप आयोजना हुँदैछ । योसँगै क्यानले उक्त प्रतियोगितामा सहभागिता जनाउने टोलीको अन्तिम टोलीको टुंगो लागेको छ। टोलीमा रोहित र सन्दीपसँगै दीपेन्द्रसिंह ऐरी, बसीर अहमद, शेर मल्ल, हेमन्त धामी, आसिफ शेख, देव खनाल, ईशान पाण्डे, ललितनारायण राजवंशी, सन्दीप जोरा, अर्जुन कुमाल, गुलशनकुमार झा र करण केसी छन्। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले गत शनिबार प्रतियोगिताका खेल तालिका सार्वजनिक गरेको थियो।

तालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर १ तारिख साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ ।

 अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेको छ । नेपालले समूहको दोस्रो खेल सेप्टेम्बर ३ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ५ मा मलेसिया र चौथो खेल सेप्टेम्बर ७ तारिख हङकङसँग खेल्नेछ । समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा स्थान बनाउनेछ ।



No ad available.


No ad available.