28th October 2026, Wednesday

एनपीएलमा मंगलबारको खेलमा चितवन राइनोज र कर्णाली याक्स बिजयी

Post Image
23 घण्टा अगाडी

News by: helpline

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटकोे तेस्रो संस्करण अन्तर्गत मंगलबार भएको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ।

चितवनले विराटनगर किंग्समाथि ८ रनको जित निकालेको हो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । विराटनगरका लागि बलर कमलसिंह ऐरी ४ विकेट लिए । ४ ओभर बलिङ गरेका कमल २६ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए । चितवनका लागि ओपनर डाविड मलानले ५१ बलमा सर्वाधिक ७० रनको योगदान दिएका थिए ।

१३औं ओभरको दोस्रो बलमा मलान आन्द्रे रसेलको बलिङमा आउट हुँदा चितवनको ब्याटिङ कप्तान रवि बोपारा र डान मोस्लीले सम्हाले । रवि र डानले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे ।

यसैगरी मंगलबार नै भएको अर्काे खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सले जितको लागि दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटियो । जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । त्यसैगरी मोइन अली र हरमित सिंहले समान १९ रन बनाए भने जेम्स निसमले १५ रन जोडे ।

 मयन यादवले १४ तथा अनिल शाहले ११ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् । कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो । कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए ।

उनले २९ बलमा चार छक्का प्रहार गरे । त्यस्तै पवन सर्राफले ३७ रनको योगदान दिए । उनले ३७ बलमा तीन छक्का प्रहार गरे । दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन बनाए भने गुल्सन झाले १२ रन जोडे । जनकपुर बोल्ट्सका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए । राहुल यादवले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए भने मोइन अलीले पनि २ विकेट हात पारे । ललित राजवंशीले १ विकेट लिए ।



No ad available.


No ad available.