News by: helpline
काठमाडौं । काठमाडौंको (सानो भर्याङमा रहेको नीजि बिद्यालय स्वस्तीश्री गुरुकुलले बिद्यार्थी र अभिभावकलाई ठगीरहेको छ ।
सो बिद्यालयले नेपाल सरकार, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति नै नलिई आईबी डिपी (+2 equivalent) को पाठ्यक्रम संचालन गरेर बिद्यार्थी र अभिभावकलाई ठगीरहेको हो । स्वस्तीश्रीले कक्षा ११ र १२ मा अनुमति नै नलिई आईबी डिपीमा भर्ना लिदै पाठ्यक्रम संचालन गरेर अभिभावक र बिद्यार्थीबाट लाखौ रुपैयाँ ठगी गरिरहँदा पनि सरकारी निकाय भने चुपचाप छन् । संचार माध्यममा सो बिद्यालयको ठगी बारेमा समाचार आएपछि संचालकहरु संचारमाध्यममा धाएर थप समाचार नआओस भनेर आफ्नो गल्ती ढाकछोप गर्ने कसरतमा लागिरहेका स्रोतको भनाई छ ।
आईबी डिपी कक्षा ११ र १२ को पाठ्यक्रम हो । जुन स्विट्जरल्यान्डको इन्टरन्याशनल बाकलोरिएट अर्गनाइजेसनको पाठ्यक्रम हो । यो निकै महंगो पाठ्यक्रम मानिन्छ । यो पाठ्यक्रम नेपालका बिद्यालयहरुमा पढाउन नेपाल सरकारको अनिवार्य स्वीकृति चाहिन्छ । तर स्वस्ती श्रीले सरकारबाट अनुमति नलिइकन यो पाठ्यक्रम संचालन गरिरहेको छ । तर अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई अभिभावकलाई ढाँटेर विद्यार्थीको भविष्यसँग खेलवाड गरी अनुमतिबिना नै पढाइरहँदा बिद्यार्थीको भविष्य र लगानी डुब्ने अवस्था आएको छ । यसप्रति अभिभावक चिन्तित छन् । तर उनीहरु बिद्यालयसँग मुख खोल्न सकिरहेका छैनन् ।
शिक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार सरकारी अनुमतिबिना पाठ्यक्रम सञ्चालन गर्दा समकक्षता निर्धारण हुँदैन । बिद्यार्थीले विदेशमा अध्ययनका लागि जान खोजेमा उनीहरुले सरकारी निकायबाट प्राप्त हुने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) समेत पाउने छैनन् । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले २०७२ सालदेखि बिदेशी पाठ्यक्रमलाई अनुमति दिएको छैन । तर बीचमा मन्त्रिपरिषदको निर्णयबाट केही बिद्यालयले अनुमति पाएका थिए । मन्त्रालयका बिद्यालय शाखा प्रमुख कृष्ण चन्द्र पोखरेलले स्वस्ती श्रीले आइबी डीपी संचालनको अनुमति नपाएको तर अनुमतिका लागि निवेदन दिएको बताउनु भयो । पोखरेलले निवेदन दिएकै भरमा अनुमति नै नपाई त्यसरी बिदेशी पाठ्यक्रमको कक्षा संचालन गर्नु गैर कानुनी भएको बताउनु भयो । अनुमति नपाएको बिदेशी बोर्डको परीक्षा दिंदा बिद्यार्थीले छात्रबृत्तिका लागि स्वदेश तथा बिदेशमा समेत मौका पाउन समस्या हुने देखिएको छ ।
अनुमति नलिई विदेशी बोर्डको पाठ्यक्रम सञ्चालन गरेका विद्यालयबाट प्रमाणपत्र पाएका विद्यार्थीहरूलाई विदेशी प्रमाणपत्रका आधारमा नेपालमा समकक्षता नदिने शिक्षा मन्त्रालयको भनाई छ । बिद्यार्थी र अभिभावकलाई भ्रममा पारेर कक्षा संचालन गर्ने शिक्षण संस्थाहरूलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी मन्त्रालयको छ । तर यसप्रति बिद्यार्थी र अभिभावक पनि सचेत हुनुपर्ने पोखरेलले बताउनु भयो । किनकि आफ्ना छोराछोरी अध्ययन गर्ने र गर्न लागेका बिद्यालय के कस्तो हो उसले सरकारबाट बिदेशी पाठ्यक्रम संचालन गर्ने अनुमति पाएको छ कि छैन भन्ने कुरामा अभिभावक जिम्मेवार हुनुपर्छ । शिक्षा क्षेत्रका जानकारहरुपनि यसरी अनुमति नलिइ बिदेशी पाठ्यक्रम संचालन गरिनु सरासर ठगी भएको र यसले नेपालको शिक्षा क्षेत्रलाई बद्नाम गर्ने हुनाले तत्काल कारवाही हुनुपर्ने बताउँछन् ।
सो बिद्यालयले आफूहरुले अनुमति लिने काम भइरहेको भन्दै बिद्यार्थी तथा अभिभावकलाई झुक्याएर बिद्यार्थी भर्ना गर्ने गरेको स्रोतको भनाई छ । जसले गर्दा बिद्यार्थीको लगानी र मेहनत डुब्ने होकि भन्ने चिन्ता बढाएको छ । उक्त बिद्यालयले पाठ्यक्रम संचालन अनुमतिका लागि सरकारी निकायमा निवेदन दिएकै भरमा अनुमति नै नपाई यसरी महंगो पाठ्यक्रम पहुचका भरमा संचालन गरिरहेको छ । सरकारले नेपालमा केही नीजि क्षेत्रका बिद्यालयलाई मात्रै धेरै अगाडीदेखि यो पाठ्यक्रम संचालनका लागि अनुमति दिएको थियो ।
बिद्यार्थीहरुले आईबी डिपी (+2 equivalent) को कक्षामा (११र १२) मा गरी दुई वर्षमा प्रति बिद्यार्थी २० लाख भन्दा बढी बुझाउने गरेका छन् । अनुमति नलिई स्वस्तीश्रीले आइबी डिपीलाई डिप्लोमा प्रोग्राम भनेर आफ्नो वेब साइटमा स्पष्ट रुपमा राखेर बिज्ञापन गरिरहेको छ । बिद्यालय संचालन र व्यवस्थापनको जिम्मेवारी संविधानले स्थानीय तहलाई दिएको छ । तर पाठ्यक्रमबारे स्थानीय तहलाई अधिकार छैन ।
नागार्जन नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण बहादुर कुँवरले स्वस्तीश्रीले कक्षा १२ सम्म कक्षा संचालन गर्ने अनुमति पाएको तर पाठ्क्रमका बारे आफूहरुको अधिकार नभएको बताउनु भयो । उहाँले पाठ्यक्रम संघीय सरकारले हेर्ने भएकाले स्थानीय तहलाई जानकारी नहुने उल्लेख गर्नुभयो । विश्वमा आईबी डीपि उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा भर्ना हुन सहज मानिन्छ । तर स्वस्तीश्री गुरुकुलको यो ठगीले नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न र नेपाली विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने काममा असर पार्न सक्ने बिज्ञहरुको भनाई छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक