11th September 2026, Friday

हालसम्म रसुवा बाढीमा परेका ३८९ जनाको शव फेला

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । रसुवा बाढीबाट मृत्यु भएका ३८९ जनाको शव भेटिएको छ ।

 नेपाल प्रहरीका अनुसार हालसम्म ३८९ शव फेला परेका हुन् । जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ शव भेटिएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७९६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिहिबार मात्रै उद्धारका लागि ६९ वटा हेलिकप्टर उडान भएका छन् । हालसम्म कुल ५० जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । साथै जमिनबाट हालसम्म ७५६ जनाको उद्धार गरिएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म १० ट्रक राहत सामग्री पठाइएको छ । जसमा चाउचाउ, बिस्कुट, ‘स्लिपिङ ब्याग’, ‘म्याट्रेस’, ब्ल्याङ्केटलगायत छन् ।

प्रभावित क्षेत्रमा सञ्चार ‘सेट’हरू पनि पठाइएको छ । हेलिकप्टरबाट चार उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पनि पठाइएको छ । प्राधिकरणका अनुसार हाल ९१० जना सम्पर्कविहीन छन् । जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १६१ र नुवाकोटका एक जना छन् । साथै विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कविहीन छन् ।



No ad available.


No ad available.