3rd June 2026, Wednesday

कांग्रेस विभाजनको दिशामा गइरहेको पूर्ण बहादुर खड्काको भनाई

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको दिशामा गइरहेको बताउनु भएको छ ।

शनिबार कांग्रेस कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको ‘कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै खड्काले यस्तो बताउनु भएको हो । विशेष महाधिवेशनको नेतृत्वविरुद्व निर्वाचन आयोग र सर्वोच्च अदालतमा जानु भएका खड्काले सर्वोच्चको फैसलापछि पनि पार्टी बृहत एकताका लागि सबै प्रदेशमा भेलागरि कार्यकर्ताको सुझाव लिएर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

खड्काले विशेष महाधिवेशनका कारण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले हार व्यहोरेको दाबी गर्नुभयो । ‘इतिहासमै नेपाली कांग्रेसले पहिलो पटक लज्जास्पद हार व्यहोर्नुपरेको छ’ खड्काले भन्नु भयो , ‘चुनावको मुखमा गरिएको विशेष महाधिवेशनले पार्टीलाई ऊर्जा दिन सकेन ।’ हार व्यहोरे पनि नेतृत्व अझै पार्टी एकताको पक्षमा गम्भीर नभएको खड्काको आरोप छ । पार्टी एकताको पहल पाटीृ सभापति गगन थापाबाट हुनुपर्नेमा नेतृत्व विभाजनतिर अग्रसर भएको उहाँको भनाइ छ ।

नेताहरूलाई घेराबन्दीमा पार्ने र बिशेषको नाममा पार्टी कब्जा गर्न उद्दत रहेको उहाँले बताउनुभयो । क्रियाशील सदस्यता अध्यावधिकको नाममा सदस्यहरूलाई पार्टीबाट लखेट्न खोजिएको खड्काको आरोप छ । पार्टी अफ्ठ्यारो अवस्थामा पुगेकोले सबै तहका नेता कार्यकर्ताको सुझाव लिन आफूले सबै प्रदेशमा भेला आयोजना गरिएको र तल्लो तहबाट आएको सुझावका आधारमा आफ्नो समूहले आवश्यक निर्णय लिने खड्काको भनाइ छ ।

पार्टीमा लागेर आफूले पाउनुपर्ने सबै पद र अवसर प्राप्त गरिसकेकाले आफूले बाँकी पुस्ताको राजनीतिक भविष्यका लड्ने पनि खड्काले बताउनुभयो । नेपाली कांग्रेस कर्णाली प्रदेश समितिले आयोजना गरेको विचार गोष्ठी नाम दिएको भेलामा शेरबहादुर देउवा समूहका नेता कार्यकर्ताहरूको सहभागिता थियो । गोष्ठीमा देउवा समूहका मानिने प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशसभा सदस्यहरू र निवर्तमान केन्द्रीय सदस्यहरू सहभागी भएका थिए । संस्थापन पक्षले भने बहिष्कार गरेका थिए ।



No ad available.


No ad available.