28th July 2026, Tuesday

कांग्रेसद्वारा ‘एनसी फर एनसी’ अभियानको घोषणा

Post Image
4 दिन अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसले ‘एनसी फर एनसी’ अभियानको घोषणा गरेको छ ।

 बिहीवार ४४ औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रमबीच अभियानको घोषणा गरिएको हो ।सभापति गगनकुमार थापाले पार्टीको नयाँ अभियान ‘एनसी फर एनसी’ को घोषणा गर्दै ‘एनसी फर एनसी’ को अर्थ ‘नेपाली काँग्रेस फर नेसनल कज’ रहेको बताउनुभयो । सभापति थापाले यो अभियान पार्टीको आन्तरिक मामिलामा मात्र सिमित नभई नागरिकहरूको कल्याण र वृहत्तर राष्ट्रिय हितमा केन्द्रित रहने स्पष्ट पार्नुभयो ।

 अभियानको कार्यतालिका सार्वजनिक गर्दै सभापति थापाले साउन ७ गतेदेखि भदौ २४ गतेसम्म सांगठनिक तयारीको चरण रहने जानकारी दिनुभयो । उहाँकाअनुसार भदौ २४ गते वीपी जयन्तीको अवसरमा भव्य समारोह आयोजना गरिनेछ । सोही दिन नेपाली कांग्रेसका प्रत्येक सदस्य र पार्टीका सबै तहका कमिटीहरूले नागरिक हित र राष्ट्रिय उद्देश्यका लागि विशेष प्रतिज्ञा गर्ने कार्यक्रम तय गरिएको छ ।

थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली र राजनीतिक हस्तक्षेपमुक्त बनाउन आवश्यक परे संविधान संशोधन गर्नसमेत पार्टी तयार रहेको पनि उल्लेख गर्नुभयो ।

सो अवसरमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बीपी कोइरालाको विचार कुनै पार्टी, परिवार वा वंशमा सीमित नरही ब्रह्माण्डीय र सार्वभौम विचार भएको उल्लेख गर्नुभयो । यसैगरी कांग्रेसकी उपसभापति पुष्पा भुषालले पार्टीको नयाँ विधानले कांग्रेसलाई रूपान्तरण र पुस्तान्तरणको दिशामा अघि बढाएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बलियो संगठन निर्माण गरी नेपाली कांग्रेसलाई देशकै सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाइने दाबी गर्नुभयो । अर्का महामन्त्री प्रदीप पौडेलले कांग्रेसलाई आम जनता र ‘भूइँमान्छे’का मुद्दासँग जोडेर नयाँ सोच र अभियानका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

 प्रतिनिधि सभामा कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टी र संसद दुवैमा विवेक र तर्क कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो उहाँले विवेक हराउँदा अहंकार र तर्क हराउँदा गालीगलौज हावी हुने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो ।



No ad available.


No ad available.