28th July 2026, Tuesday

कक्रोच जनता पार्टीसामु झुक्यो मोदी सरकार,शिक्षामन्त्रीद्वारा राजीनामा

Post Image
2 दिन अगाडी

News by: helpline

एजेन्सी ।  कक्रोचजनता पार्टी (सीजेपी) का सामु भारतको नरेन्द्र मोदी नेतृत्वको सरकार झुक्न बाध्य भएको छ ।

 सीजेपीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर मन्तरमा एक महिनाभन्दा लामो विरोध प्रदर्शन गरिरहेको थियो । शनिबार केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनु भएको छ । शिक्षामन्त्री प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा दिएसँगै ककरोच जनता पार्टी (सीजेपी) ले आन्दोलन फिर्ता लिएको छ।

 पत्रकार सम्मेलन गर्दै सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले शिक्षा मन्त्री प्रधानले राजीनामा दिएको आफ्ना मागहरु सम्बोधन भएको भन्दै सहमतिका सर्तहरू तोकिएको समयसीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिइएको जानकारी गराउनु भयो । सीजेपीले सरकारसमक्ष पाँच बुँदे मागपत्र प्रस्तुत गरेको र चार हप्तापछि अर्को चरणको वार्ता गर्ने बताइएको छ । शनिबार शिक्षामन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामा बुझाउनुभएको थियो । देशका युवा ‘भ्रमको जालमा नफसून्’ भन्ने सुनिश्चित गर्न विद्यार्थीहरूको ठूलो हितमा आफूले राजीनामा दिएको प्रधानले बताउनुभयो ।

 कक्रोच जनता पार्टी (सीजेपी) को सुरुवात मुख्य न्यायाधीश सूर्य कान्तको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमार्फत् भएको थियो । नागरिक अभियन्ता सोनम वाङचुकसँगै विद्यार्थी तथा युवाहरूको ठूलो जमातले राजधानीको जन्तर मन्तरमा आन्दोलनको नेतृत्व गर्दै प्रधानको राजीनामा मागेको थियो ।

यो विवाद मे महिनामा ‘नीट–यूजी’ को प्रश्नपत्र बाहिरिएको पाइएपछि सुरु भएको थियो भने पुनः परीक्षा जुन २१ मा सम्पन्न भएको थियो । केन्द्र सरकारमाथि जन्तर–मन्तरको आन्दोलनका कारण मात्र दबाब देखिएको थिएन, देशका विभिन्न भागमा शिक्षामन्त्रीको राजीनामा माग्दै युवाहरू सडकमा उत्रिएका थिए। यसबाहेक संसद्भित्र र बाहिर पनि विपक्षी दलहरूले शिक्षामन्त्रीको राजीनामालाई लिएर सरकारमाथि दबाब बनाएका थिए।



No ad available.


No ad available.