28th July 2026, Tuesday

मोटरसाइकलमा ह्वील लक गरिदिएको आक्रोशमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । काठमाडौं महानगरको नगर प्रहरीले मोटरसाइकलमा ह्वील लक गरिदिएको आक्रोशमा आफैंलाई आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ ।

 मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । बिहीबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडी आत्मदाह प्रयास गरेका नेपालीको वीर अस्पतालले ‘आईसीयू’ मा उपचाररका क्रममा निधन भएको हो । त्रिपुरेश्वरमा नो पार्किङ क्षेत्रमा मोटरसाइकल रोकेको भन्दै महानगरीय प्रहरीले नेपालीको मोटरसाइकलमा ह्वील लक लगाईदिएपछि उनले आफैंलाई पेट्रोल छर्केर आगो लगाएका थिए ।

तत्कालै उपचारका लागि वीर अस्पताल लगिए पछि उनको शरीर ८५ प्रतिशत जलेकाले अवस्था जटिल बनेको थियो । उनलाई उपचारका लागि बिहीबार राति नै भारत लैजाने तयारी सरकारले गरेको भए पनि अवस्था जटिल देखिएपछि भारत लैजाने तयारी रोकिएको थियो ।

 यसैबीच, नेपालीको मृत्यु प्रकरण छानविनका क्रममा प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ । सरकारकै कारण गणेशले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै शुक्रबारको संसद बैठकमा बिपक्षीहरुले सरकारको आलोचना गरेका थिए । दुई जना महिला र एक जना पुरुष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो।



No ad available.


No ad available.