21st April 2026, Tuesday

प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण अन्तिम चरणमा, महाभियोगवारे सबै दलहरुसँग थप छलफल गरिने

Post Image
1 दिन अगाडी

News by: helpline

काठमाडौं । प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

 प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाभियोग लगायतका केही काम बाँकी रहेपनि अन्य सबै विषय टुङ्गोमा पुगेको जनाएको छ । समितिका सभापति गणेश पराजुलीका अनुसार मस्यौदा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । उहाँका अनुसार समितिलाई दिएको १४ दिने समयसीमा मङ्गलबार सकिँदैछ ।

उहाँले अधिकांश विषयमा सहमति जुटिसकेकोले सोमबारको बैठकमा सबै विषय टुङ्गोमा पुर्‍याएर मस्यौदालाई अन्तिम रूप दिने बताउनुभयो । पराजुलीका अनुसार महाभियोग लगायत केही संवेदनशील विषय अझै बाँकी छन् । 

ती विषयमा राजनीतिक दलहरूसँग थप परामर्श गरी दलगत धारणा समेट्ने प्रयास भइरहेको छ । सोमबार बिहान ११ बजे बस्ने बैठकले बाँकी विषयहरू अन्तिम रूप दिने उहाँले जानकारी दिनुभयो । महाभियोग सम्बन्धी व्यवस्थामा केही फरक धारणा र विचारहरू देखिएकाले बहुआयामिक ढङ्गले छलफल गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।

नियमावलीमा संसदीय इतिहासको गरिमा र अभ्यासलाई ध्यानमा राख्दै २०१६ साल यताका अनुभवलाई समेट्ने र बदलिँदो व्यवस्था अनुसार नयाँ प्रावधान समावेश गर्ने दिशामा काम भइरहेको बताइएको छ ।

 समितिले आइतबार सभामुख तथा पूर्वमहासचिवहरूलाई समेत आमन्त्रण गरी सुझाव लिएको छ । समितिले सभामुख डोलप्रसाद अर्याललाई समितिले गरेको काम कारबाहीको बारेमा जानकारी गराएको थियो ।

पराजुलीले नियमावलीको मस्यौदा प्रचलित कानुन, अदातलका फैसला, यसअघि प्रतिनिधिसभाले निर्माण गरेको कानुनभन्दा बाहिर नजाने गरी तयार पारिएको उल्लेख गर्नुभयो ।



No ad available.


No ad available.