2nd June 2026, Tuesday

प्रधानमन्त्री शाहको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रालयको दाबी

Post Image
2 दिन अगाडी

News by: helpline

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा गरेको ‘कतिपय स्थानमा नेपालले पनि भारतको सीमा मिचेको हुन सक्छ’ भन्ने अभिव्यक्ति सीमा क्षेत्रमा देखिएको ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारको अवस्थासँग सम्बन्धित रहेको दाबी गरेको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा भारतले नेपालको लिपुलेक र कालापानीमा सीमा मिचेको बिषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्रै नभई नेपालले पनि भारतको सीमा मिचेको आफू प्रधानमन्त्री भएपछि थाहा पाएको जवाफ दिनु भएको थियो । आफ्नै देशको प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिएका नेपाली जनताका लागि लज्जास्पद र आक्रोशजनक भएको भन्दै यसको बिरोध भएपछि परराष्ट्र मन्त्रालयले बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइको बचाउ गरेको हो ।

मन्त्रालयले नेपाल–भारत सीमा निर्धारण गर्दा नदी सीमाक्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अपनाइएकाले केही स्थानमा एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती तथा बसोबास गर्ने अवस्था रहेको जनाएको छ। मन्त्रालयले प्राविधिक अध्ययनबाट केही स्थानमा हाल नेपालको उपयोगमा रहेको जग्गा भारततर्फ र भारतको उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदमा राखेको भनाइ यही प्राविधिक यथार्थसँग जोडिएको दाबी गरेको छ ।

परराष्ट्र मन्त्रालयले नेपाल र भारतबीचका सीमासम्बन्धी विवादहरू ऐतिहासिक सन्धि–सम्झौता, नक्सा तथा कूटनीतिक वार्ताका माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि दोहो¥याएको छ। मन्त्रालयका अनुसार नेपाल–भारत सीमाअन्तर्गत सुस्ता तथा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी छ। ती क्षेत्रबाहेक अन्य कतिपय स्थानमा दशगजा अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ का समस्या विद्यमान छन्।

विज्ञप्तिमा नेपाल र भारतका सीमासम्बन्धी संयन्त्र तथा प्राविधिक टोलीहरूले सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा अतिक्रमण तथा सीमा वारपारको जग्गा उपयोगसम्बन्धी विवरण सङ्कलनको काम गरिरहेको उल्लेख छ।



No ad available.


No ad available.