28th July 2026, Tuesday

संचालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

Post Image
18 घण्टा अगाडी

News by: helpline

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्नुभएको हो ।

त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताउनुभयो । उहाँले यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गर्नुभयो ।

यसै वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको उल्लेख गर्दै अध्यक्ष तानाकाले विगत सात दशकदेखि पारस्परिक विश्वास, सम्मान र सहकार्यमा आधारित सम्बन्ध अझ सुदृढ बन्दै गएको बताउनुभयो ।

 नागढुङ्गा सुरुङ दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यको जीवन्त प्रतीक भएको उहाँको भनाइ थियो । नेपालका लागि जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता (ओडिए) तथा नेपाली प्राविधिक र श्रमिकहरूको अथक परिश्रमबाट सुरुङ निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले यस परियोजनाले नेपाल र जापान सरकारबीचको विश्वासपूर्ण तथा दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो ।

राजदूत माएदाले परियोजनामा योगदान पु¥याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै यसबाट हस्तान्तरण भएको प्राविधिक ज्ञान, सीप तथा उच्च सुरक्षा मापदण्डले नेपालको भावी सुरुङ तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । आगामी वर्षौंसम्म नेपालले आफ्नै दक्षतामा सुरुङ सञ्चालन तथा मर्मतसम्भार गर्न सक्ने क्षमता विकास गर्नु नै सहकार्यको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ ।

 सुरुआती सम्झौताअनुसार आयोजना विसं २०८० वैशाख १३ गतेभित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलाइ, कोभिड–१९ महामारी तथा स्थानीयको अवरोधका कारण निर्माण प्रभावित भएको थियो । विसं २०७६ कात्तिक २८ गते ठेक्का सम्झौता भएको उक्त आयोजनाको निर्माण अवधि पछिल्लोपटक २०८२ कात्तिक ८ गतेसम्म थप गरिएको थियो ।



No ad available.


No ad available.