13th September 2026, Sunday

सरकारको विपद् व्यवस्थापन शैलीप्रति एमालेको असन्तुष्टि

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी बाढीपछि सरकारले खोज, उद्धार तथा राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाउनुभएको छ।

 सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमाले केन्द्रीय कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाखको चेक ग्रहण गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सरकारको विपद् व्यवस्थापन शैलीप्रति असन्तुष्टि जनाउनुभएको हो। अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा मन्त्रीहरूलाई लक्षित गर्दै कतिपयले प्रभावित नागरिकलाई हप्कीदप्की गरेर फर्किने, कतिपयले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सिर्जना गर्ने गरेको टिप्पणी गर्नुभयो।

उहाँले विपद्पछि केन्द्रीय सरकारको उपस्थितिसमेत खोज्नुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले उद्धार कार्यमा निजी क्षेत्रका हेलिकप्टरलाई प्रयोग गर्न सरकारले रोक लगाएको दाबी गर्दै त्यसप्रति आपत्ति जनाउनुभयो। अध्यक्ष ओलीले सुरुङ तथा अन्य जोखिमयुक्त क्षेत्रमा फसेकाको उद्धार हेलिकप्टरबाट मात्र सम्भव नहुने उल्लेख गर्दै त्यस्ता स्थानमा आवश्यक प्राविधिक जनशक्ति र उपकरण परिचालन गर्नुपर्ने बताउनुभयो।

प्रभावित स्थानीयले आफन्तको खोजी गर्नसमेत अनुमति नपाएको गुनासो गरिरहेको उहाँको भनाइ थियो। उहाँले विपद्को समयमा सरकारको समन्वयकारी भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै एमालेका नेता, कार्यकर्ता तथा स्थानीय र प्रदेश तहका जनप्रतिनिधि प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत तथा सहयोगका काममा खटिएको दाबी गर्नुभयो।



No ad available.


No ad available.