28th July 2026, Tuesday

सरकारले प्रश्न गर्ने आवाजलाई तर्साउन खोजेको कांग्रेस सभापति थापाको आरोप

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निवाससहित विभिन्न सञ्चारमाध्यम र व्यापारिक प्रतिष्ठान अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यसले प्रश्न गर्ने आवाजलाई तर्साउने प्रयास भएको आरोप लगाउनु भएको छ ।

 ४४औं बीपी स्मृतिदिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको वृहत् बैठकलाई सम्वोधन गर्दै बी.पी. कोइरालाले राणा प्रधानमन्त्रीलाई नागरिकले सत्तामाथि प्रश्न गर्ने अधिकारलाई अब कसैले रोक्न सक्दैन भनेर उसबेला दिनु भएको जवाफको स्मरण गर्दै भन्नुभयो – पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडि तेस्र्याएर नागरिकको निजी सम्पत्ति, उसको आर्जन र जीवनमाथि क्षति पु¥याउने कुनै अधिकार राज्यले राख्दैन ।

सभापति थापाले गाडी तेस्र्याउन आएकाहरु सरकारी गाडी चढेर फर्केको स्थानीय नागरिकबाट जानकारी पाएको उल्लेख गर्दै सुकुम्वासी समस्या र गणेश नेपालीको आत्मदाहको अवस्थाबारे दल र मिडियाले प्रश्न उठाउन थालेपछि राज्यले यो व्यवहार गरेको बताउनु भयो । उहाँले सुकुम्वासी समस्यालाई दलीयकरण गर्ने कांग्रेसको नीति नरहेको प्रष्ट पार्दै कानूनले दिएको निकास नखोजेर सरकार आफैंले समस्या सिर्जना गरेको बताउनु भयो ।

सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्न सक्नु पर्नेमा मानव जीवनको रक्षाबाट विमु्ख र करुणाविहीन भएको उल्लेख गर्नु भयो । सोमबार बिहान साढे ७ बजे रातोपुलस्थित सभापति थापाको निवास अगाडि बएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको थियो । उक्त गाडीलाई क्रेनको मद्धतले प्रहरीले उठाएको थियो ।

थापाले स्थानीयले पटकपटक प्रशासनलाई जानकारी गराउँदा पनि आवश्यक चासो नदिइएको दाबी गर्दै घटनाप्रति सरकार नै जिम्मेवार भएको आरोप लगाउनु भयो । थापाले लोकतान्त्रिक समाजमा नागरिकको प्रश्न गर्ने अधिकार कुनै पनि हालतमा खोस्न नसकिने स्पष्ट पार्दै नेपाली कांग्रेसले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको पक्षमा निरन्तर आवाज उठाइरहने बताउनुभयो ।



No ad available.


No ad available.