3rd June 2026, Wednesday

संसद स्थगित गरेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेकोमा विरोध जनाएको छ ।

सरकारले बोलाइसकेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश सिफारिस गरेकोप्रति कांग्रेसको आपत्ति जनाएको हो । सरकारले संबैधानिक परिषद र सहकारी सम्बन्धी अध्यादेशका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले मंगलबार बिज्ञप्ति जारी गर्दै सरकार शक्ति केन्द्रीकरणतर्फ लागेको आरोप लगाउनु भएको छ । सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरणतर्फको खतरनाक संकेत हो भन्ने कांग्रेसको ठहर रहेको चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यस प्रकारको अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक छ । “यो केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायकी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमण हो,’ चालिसेले भननु भएको छ । 

यस्तो प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाउने र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गर्ने पनि चालिसेको भनाई छ । नेपाली कांग्रेसले सरकारलाई लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्यादाप्रति पूर्ण प्रतिबद्ध रहन, संसद्को भूमिका र गरिमाको सम्मान गर्न तथा यस्ता कदमहरू तत्काल पुनर्विचार गर्न जोडदार आग्रह गरेको छ। यसै बीच कांग्रेस महामन्त्री प्रदीप पौडेलले सरकारको उक्त कदमको आलोचना गर्दै सरकारको हठ लोकतान्त्रिक मूल्य–मान्यता माथिको प्रहार र जनमतप्रतिको चरम गैरजिम्मेवारी पन भएको धाराणा सार्वजनिक गर्नु भएको छ ।



No ad available.


No ad available.