28th July 2026, Tuesday

उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Post Image
3 महिना अगाडी

News by: helpline

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८७१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तिवारीको सरकारी नोकरी अवधिभर वैधानिक आय १४ करोड ५१ लाख ९१ हजार ३५६ रुपियाँ देखिएको छ । सो अवधिमा निजको व्ययतर्फ अध्धयन खर्च, ऋण–सापटी लगानी रकम, कम्पनीमा लगानी रकम, घर खरिद–निर्माण खर्च, जग्गा खरिद खर्च, घरजग्गा बिक्री लाभकर, हिराको हार, शेयर खरिद लगायत विभिन्न शीर्षकमा २५ करोड ६ लाख ८७ हजार २२७ रुपियाँ देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार सार्वजनिक पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध दश करोड ५४ लाख ९५ हजार ८७१ रुपियाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम थप सजाय हुनसमेत मागदाबी गरिएको छ ।

 तिवारीकी श्रीमती मिना देवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी कायम गरी सजाय हुन मागदाबी लिइ बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



No ad available.


No ad available.