12th September 2026, Saturday

युएईलाई ४४ रनले हराउँदै नेपाल एसिया कपमा छनोट

Post Image
1 घण्टा अगाडी

News by: helpline

काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ ।

शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो । नेपालले अन्तिमपल्ट सन् २०२३ मा एसिया कप खेलेको थियो। उक्त प्रतियोगितामा नेपालले भारत र पाकिस्तानसँग समूह चरणमा खेले पनि जित निकाल्न सकेको थिएन। यसपल्ट एसियन क्रिकेट काउन्सिलले प्रिमियर कप जित्ने टोलीले मात्र एसिया कपमा सहभागिता जनाउने नियम बनाएको थियो। सोही कारण नेपाललाई उपाधि जित्नै पर्ने दबाब थियो।

नेपालले उक्त अवस्थामा यूएईलाई ४४ रनले पराजित गर्दै उपाधिसहित एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई अन्तिम ५ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै २६९ रनमै समेटियो। यूएईका लागि राहुल चोपडाले सर्वाधिक १०० रन बनाए। उनले १०५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सोहाइब खानले ५७ बलमा ४ चौका र २ छक्कासहित ५२ रन बनाए। तानिस सुरी ४२ र हरप्रित भाटिया ३३ रनमा आउट भए। तर‚ अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा यूएई २६९ रनमै समेटियो। नेपालका करण केसीले ९ ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए।

ललित नारायण राजवंशीले १० ओभरमा ४३ रन दिँदै २ विकेट लिए। सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, गुल्शन कुमार झा र बासिर अहमदले समान १ विकेट लिए। त्यसअघि बायुमास क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो। नेपालका आसिफ शेखले सर्वाधिक १०२ रन बनाए। १०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे। गुलशन कुमार झाले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन जोडे। त्यसअघि अर्जुन कुमालले ६३ बलमा ४३ तथा रोहितकुमार पौडेलले ४४ बलमा ४० रन बनाए। ईशान पाण्डेले १३ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे।

सन्दीप जोराले ७, करण केसीले १ रन बनाए। यूएईका इब्रार अहमदले सर्वाधिक ४ विकेट लिए। ७.२ ओभर बलिङ गरेका उनले ५१ रन खर्चे। खुजाइमा बिन तनवीरले २ तथा हैदर अली र अदीब उस्मानीले समान १ विकेट लिए।



No ad available.


No ad available.