2nd March 2026, Monday

आचार संहिता उल्लंघन भएकोप्रति कांग्रेसले निर्वाचन आयोगमा बुझायो ध्यानाकर्षण पत्र

Post Image
18 घण्टा अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आचार संहिता उल्लंघनका घटना बढेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले विभिन्न ठाउँमा आचार संहिता उल्लंघन भएको विषयमा आइतबार आयोग कार्यालय पुगेर आचार संहिता उल्लंघन सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको हो । कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेको नेतृत्वमा आयोग गएको टोलीले चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

 ती बुँदाहरूमा राजनीतिक दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम दुरुपयोग गरिरहेको, राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको, निर्वाचन आयोगले राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशन विपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको र मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जाल मार्फत् निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको रहेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हालसम्म ११ सय भन्दा बढी आचार संहिता उल्लघंनको घटना भएको उजुरी परेको र आयोगले प्रमाण संकलन गरिरहेको बताउनुभयो ।

उहाँले विभिन्न ठाउँमा रकमसमेत बाँडिएको पाइएको भन्दै अध्ययन गरी कारबाही गरिने बताउनुभयो । भण्डारीले आचार संहिता उल्लंघनको घटनामा आयोग संवेदनशील रहेको भन्दै कांग्रेसको ध्यानाकर्षणप्रति आभार व्यक्त गर्नुभयो । उहाँले स्वच्छ निर्वाचनका लागि आयोग कटिबद्ध रहेकोसमेत बताउनुभयो । कांग्रेसले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, पारदर्शीता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गराउनका लागि निर्वाचन आचार संहिता पालना गर्न गराउन ध्यानाकर्षण पत्र बुझाएको हो ।

टोलीमा प्रवक्ता चालिसेसँगै केन्द्रीय सदस्य एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी, कांग्रेस युवा नेता मनोजमणि आचार्य, कांग्रेस केन्द्रीय कार्यालयका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलाल, कांग्रेस मिडिया सेन्टरका संयोजक जीवन भण्डारीलगायत सहभागी रहेका थिए ।



No ad available.


No ad available.