2nd March 2026, Monday

अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ – गगन थापा

Post Image
3 दिन अगाडी

News by: helpline

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष स्वर्णिम बनाउने दाबी गर्नुभएको छ ।

सुर्खेतमा भएको कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गर्नुभयो । सभापति थापाले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको पनि बताउनु भयो । तर कोही पनि यसका लागि तयार नभएको भन्दै उहाँले कोही कसैले कुनै नाटक गर्यो भने कर्णालीले त्यसलाई पत्याउन नहुने उल्लेख गर्नुभयो ।

थापाले भन्नुभयो , ‘आओस् एमाले, आओस् नेपाली कम्युनिष्ट पार्टी र आओस् रास्वपा एउटै मञ्चमा बसेर योजना बनाउँ भन्दा कोही नआउने । हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरु आज यहाँ आएर पाँच वर्षमा केही गर्छु भनेर नाटक गर्नेहरुलाई कर्णालीबासीले नपत्याओस् ।’ सभापति थापाले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले सिंहदरबार जलाउन पनि नहुने बताउनुभयो । सभापति थापाले भदौ २३ गतेको आन्दोलनको जिम्मा लिने तर भदौ २४ गतेको विध्वंशको जिम्मा नलिने सोचले भोलि पनि मुलुकलाई दुर्घटना गराउन सक्ने बताउनुभयो ।

 विदेशमा भएकाहरुलाई सम्बोधन गर्दैै थापाले भन्नुभयो , ‘सिंगो कांग्रेसको जिम्मा लिएर बोल्दैछु २०४६ सालपछि भएका भनिएका सुनिएका काण्डहरुको छानबिन गर्दै गर्दां मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन । पाँच वर्षमा एक जनाले पनि कुनै गलत गर्यो भनेर सुन्न पाउनु हुँदैन ।’ उहाँले यो पाँच वर्षलाई परीक्षण नगर्न पनि आग्रह गर्नुभएको छ । सभापति थापाले मतदातालाई आग्रह गर्दै भन्नुभयो, ‘यो पाँच वर्षलाई परीक्षण नगरौँ । हामी काम गरेर देखाउने हो । कर्णालीका बारेमा सबै राम्रा भन्न सकिन्छ ।

तर प्रश्नसँगसँगै देशभर १७ प्रतिशत हुँदै गर्दा करिब ४० प्रतिशत गरिबी बोकेर कर्णाली किन बसिरहेको छ ? देशभरिका बालबालिका बचाउँदा कर्णालीका किन बनाउन सकिएन ? समस्याको जरासम्म पुग्नुपर्छ ।’ उहाँले कर्णाली र काठमाडौँ महानगरपालिकाको कुनै तुलनासमेत हुन नसक्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो , ‘कर्णालीको आय वार्षिक ५२ करोड छ । काठमाठौँमा त १० अर्ब छ । सुतीसुती मेयरले १० अर्ब खर्च गर्न पाउँछ । प्रदेश सरकारले सबैभन्दा बढी कर यातायात, सडकबाट पाउँछ । यहाँ त यातायात र सडक नै कम छ ।’

उहाँले कांग्रेसको प्रतिज्ञापत्रले अझै सबै ठाउँमा चर्चा बटुल्न नसकेको बताउँदै यथास्थितिवादी र अतिवादीले मुलुक नबनाउने दाबी गर्नुभयो । सो सभामा नेपाली कम्युनिष्ट पार्टीबाट धनलाल गुरुङ, भोजराज मल्ल, बलराम रावल र नारायण बस्नेतसहित ८० जना कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई सभापति थापाले स्वागत गर्नुभएको थियो ।



No ad available.


No ad available.