12th September 2026, Saturday

भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या ५४७ पुग्यो, २ हजार ३ सय भन्दा बढी सम्पर्कबिहीन

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ५४७ पुगेको छ ।

विभिन्न जिल्लाबाट अहिलेसम्म एक जना प्रहरीसहित ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३८, गोरखामा ४४, चितवनमा २२१, नवलपरासीपूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका प्रहरीले जनाएको छ । बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी केहीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रहरीका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म ९४ जना रहेका छन् । बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।

बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन् ।



No ad available.


No ad available.