19th April 2026, Sunday

महोत्तरीमा टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु

Post Image
21 घण्टा अगाडी

News by: helpline

काठमाडौं । हाबाहुरीका कारण महोत्तरीमा टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पोमाथि शनिबार साँझ अचानक रूख ढल्दा दुई जनाको मृत्यु भएको र तीन जना घाइते भएका हुन् । जलेश्वर नगरपालिका–९ स्थित परिकौली ब्यारेक नजिकै गुडिरहेको टेम्पोमाथि सपेता (मसला) को रूख ढलेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रूपैठा बस्ने ४१ वर्षीया शकुन्तला देवी पण्डित र महोत्तरीको एकडारा गाउँपालिका–३ बस्ने ३३ वर्षीय राहुल मलिक रहेका छन् ।

टेम्पो चालक जलेश्वर नगरपालिका–११ बस्ने ५२ वर्षीय हरेन्द्र ठाकुर गम्भीर घाइते हुनुभएको छ । दुर्घटनामा मृतक शकुन्तलाकी १४ वर्षीया छोरी रिया पण्डित, महोत्तरीको एकडारा बस्ने ४३ वर्षीया फेकनी देवी र जनकपुर उपमहानगरपालिका–१२ बस्ने १६ वर्षीय धीरज मण्डल घाइते भएका छन् ।

उनीहरूलाई प्रादेशिक अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



No ad available.


No ad available.