12th September 2026, Saturday

मधेशमा एमालेका नेतालाई मुख्यमन्त्री बनाउने तयारी गरेको आशंकामा कांग्रेस सहित सात दलको खबरदारी

Post Image
10 महिना अगाडी

News by: helpline

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कांग्रेससहितका सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठनको लागि आह्वान गर्न ध्याणकर्षण गराएका छन्।

उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउन लागेको हल्ला सुनेर साना दलहरूले १६८ (२) बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुख कार्यालय पुगेर संयुक्त रुपमा खबरदारी गरेका हुन्। एमाले बाहेक नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिएका छन् ।

कांग्रेस सहितका सात दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीसँग भेटघाट गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्न अनुरोध गरेको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिनुभयो । एमाले कोटामा प्रदेश प्रमुख बन्नु भएकी भण्डारीले ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ बमोजिम एमाले संसदीय दलको नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नु हुने हो कि भन्ने शंकाले दलहरु सशंकित छन्।

 गत असोज २९ मा मधेश मुख्यमन्त्री बन्नु भएका लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र प्रसाद सोनलले प्रदेश सभामा विश्वासको मत नपाउने भएपछि हिजो प्रदेश सभामा राजीनामा दिने घोषणा गर्नु भएको थियो । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनले दिनुभएको राजीनामा हिजै स्वीकृत गरिसक्नु भएको छ । मधेशमा एमाले ठूलो दलको रुपमा रहेको छ ।



No ad available.


No ad available.