30th July 2026, Thursday

सरकार र नेपाल चिकित्सक संघबीच सहमति,बिहिबारबाट अस्पतालका सेवा सुचारु हुने

Post Image
12 घण्टा अगाडी

News by: helpline

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच बुधबार सहमति भएको छ । सहमतिसँगै चिकित्सकले जारी राखेका विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन् ।

चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै नेपाल चिकित्सक संघले दोषीमाथि कारबाहीका लागि दबाब दिन मंगलबार र बुधबार देशका स्वास्थ्यसंस्थाहरूमा ओपिडी लगायतका सेवा बन्द गरेर विरोध गरेको थियो । सोही विवाद समाधानका लागि नेपाल सरकार र चिकित्सक संघबीच आज पाँचबुँदे सहमति भएको हो । बुधबार अपराह्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीहरूबीच छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सो सहमतिपत्रमा सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । सो ऐनमा भएको व्यवस्थाअनुसार स्वास्थ्यकर्मीको सुरक्षाका विषय कार्यान्वयन गर्न सरकारले आवश्यक निर्देशिका बनाउने, स्वास्थ्य संस्थामा हुने गरेका तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाही गर्न सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गरिने लगायतका सहमति भएको छ ।

 त्यसैगरी स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्नका लागि पनि कार्ययोजना तयार गरिने र सो कार्ययोजना कार्यान्वयनका लागि नेपाल चिकित्सक संघसँगको सहकार्यमा कार्यदल गठन र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

उक्त सहमतिमा उपभोक्ता संरक्षण ऐन २०७५ मा स्वास्थ्यसम्बन्धी विषयमा आवश्यक संशोधन गर्न स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले चिकित्सक सङ्घ समेतको सहभागितामा सात दिनभित्र कार्यदल गठन गरी सो कार्यदलको प्रतिवेदनका आधारमा आवश्यक संशोधन गरिने उल्लेख रहेको छ ।



No ad available.


No ad available.